४ श्रावण, नेपालगञ्ज । बाँके जिल्लाका पाँचवटा गाउँपालिकामा सिमान्तकृत समुदायका आमा र बच्चाको स्वास्थ्यमा सुधारकालागि पोषण परियोजना सञ्चालन गरिएको छ ।
केयर नेपाल र आइडीइ नेपालको सहकार्यमा भेरी वातावरणीय बिशिष्टता समुह बि ग्रुपद्वारा सञ्चालन गरिएको सो परियोजनाको बारेमा स्थानीय सरकार लगायत बिभिन्न सरोकारवालाहरुलाई जानकारी गराउन शुक्रवार नेपालगञ्जमा शुभारम्भ बैठकको आयोजना गरियो ।
बैठकको सहजीकरण गर्दै बि ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले बाँकेका राप्ती सोनारी, बैजनाथ, खजुरा, डुडुवा र जानकी गाउँपालिकामा सो परियोजना सञ्चालन गरिएको जनाउँदै परियोजनाबाट ती पालिकाका सिमान्तकृत समुदायका आमा र बालबालिकाको स्वास्थ्यमा सुधार हुने बिश्वास व्यक्त गरे ।
बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको बैठकमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरीले बाँके जिल्लामा पछाडी परेका मधेशी र मुस्लिम समुदायमा आमा र बच्चाको स्वास्थ्यमा सुधार आवश्यक रहेको बेला यो परियोजना सञ्चालन भएकोमा खुशी व्यक्त गरे ।
पालिका अध्यक्षहरुको तर्पmबाट बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले पोषण परियोजना जिल्लाका धेरै पालिकाहरुलाई आवश्यक परेको परियोजना रहेको जनाउँदै स्थानीय सरकारले गर्ने काम गैर सरकारी संघसंस्थाले गरिदिएकोमा आभार व्यक्त गर्दै पालिकाले हरसंभव सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पालिका उपाध्यक्षहरुको तर्फबाट बोल्दै बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायाले मातृ मृत्युदरमा प्रदेशमै अगाडी रहेको बाँकेमा यो परियोजनाले आमाहरुको ज्यान जोगाउन ठुलो सहयोग गर्ने बिश्वास व्यक्त गरिन् ।
यस्तै पालिकाका कार्यकारी प्रमुखहरुको तर्फबाट बोल्दै राप्तीसोनारी गाउँपालिकाका कार्यकारी प्रमुख अधिकृत दान बहादुर ऐडीले पोषण परियोजनाका लागि सबै गाउँ पालिकाले सहयोग गर्ने र परियोजनालाई सफल बनाउने बताए ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बाँके जिल्लामा कुपोषणको समस्या बढ्दो क्रममा रहेकोे हुँदा यस्ता परियोजनाले आमा र बालबालिकाको स्वास्थ्यमा सुधार हुने अपेक्षा गरिएको बताए ।
सो अवसरमा कृषि ज्ञान केन्द्र बाँकेका कार्यवाहक प्रमुख राम यादव, केयर नेपालका प्रकाश सुवेदी, आइडिइ नेपालका सुशिल घिमिरे, बि ग्रुपका उपाध्यक्ष मिरा खनाल लगायतले परियोजनालाई सफल बनाउन बिभिन्न सुझाव दिएका थिए ।
बैठकमा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, राप्ती सोनारी गापाका उपाध्यक्ष मनिसा सिंह थारु, डुडुवा गापाका उपाध्यक्ष शाहिदा बानो, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर पौडेल, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, राप्ती सोनारी ८ का वडा अध्यक्ष शालिक राम डाँगी, गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष चन्द्र तिमिल्सिना, आइडिइ नेपालका क्षेत्रीय प्रमुख कमला धिताल लगायत पाँच वटै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख र कृषि शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
सो बैठकमा परियोजना बारे बिस्तृत जानकारी गराउँदै परियोजना संयोजक बिधायक केसीले सो परियोजना सिमान्तकृत समुदायका १५ देखि ४९ वर्षका महिला र हजार दिनका आमा तथा परिवारलाई लक्षित गरेर सञ्चालन गरिएको बताए ।
उनले परियोजनामा जिल्लाका १३ हजार ९०८ को प्रत्यक्ष सहभागिता हुने, ३०० जना सामुदायिक स्वास्थ्य कार्यकर्ताको क्षमता बृद्धि गरिने, २ हजार ५०० घरधुरीमा घरायसी पोषण बगैंचा तयार गरिने र १२५ वटा कृषक पोषण पाठशाला समुह बनाइने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here