२२ वैशाख, नेपालगञ्ज । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने विश्व शान्तिका अग्रदूत, एशियाका तारा भगवान बुद्धको २५६७औं महापरिनिर्वाण दिवस अर्थात बुद्ध जयन्ती आज देशभर मनाइँदै छ ।
बौद्ध धर्मका अधिष्ठाता भगवान गौतम बुद्धको जीवनमा आधारित जन्म, बुद्धत्व प्राप्ति र निर्वाण प्राप्तिको अवसरमा बुद्ध जयन्ती मनाइने गरिन्छ ।
भगवान् शाक्यमुनि बुद्धको जन्म ई.पू .५६६ मा भएको मानिएको छ । सिंहली मतका अनुसार भगवान् बुद्धको जन्म ई. पू. ५६६ भन्दा पहिले भएको देखिन आउँछ तर केन्टोनिज मतलाई मान्दा ई.पू. ५६६ मा बुद्धको जन्म भएको थिति–मिति मिल्न आउँछ ।
यिनै शाक्यमुनिको जन्म, समाधि अनि ज्ञान प्राप्तिको दिनका रूपमा विश्वको उत्तरीदेखि दक्षिणी ध्रुवसम्म, मृत सागरदेखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि बनारसदेखि बेइजिङसम्म आ–आफ्नै तरिकाले बुद्ध जयन्ती मनाइन्छ । भौतिक शरीर नाश भए पनि आफ्ना ज्ञान, वचन अनि आध्यात्मिक सीपमार्फत बुद्ध हामी सबैको चित्तमा विराजमान नै छन् ।
बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मनासाथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका भन्ने किंवदन्तीहरू सुनिन्छ । यसका अनुसार, उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको जानकारी र जनाऊ भएको मानिन्छ । जन्मनसाथ पोखरीमा स्नान गराइएका यिनी सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतमकी आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै दुःखद मृत्यु भएको थियो ।
अत्यन्त अनुशासित र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए । सम्पूर्ण जीव–जगत् र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुख सयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् ।
त्यसपश्चात् आफू पनि भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतम नै आज संसारका महान् गौतम बुद्ध हुन् । यसरी सांसारिक दुःखको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृह त्याग गरी बोध गया भन्ने ठाउँमा एक वृक्ष मुनि अधिष्ठानपूर्वक तपस्यामा लिन भए ।
विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । यो विश्वको चौथौँ ठुलो धर्म हो । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस्, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।
२५६७औँ बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here