११ नेपालगञ्ज । विभिन्न कार्यक्रमको आयोजन गरी आज १७औं लोकतन्त्र दिवस देशभर मनाइँदै छ ।
राजसंस्थाको पारिवारिक र जहानियाँ प्रत्यक्ष शासन अन्त्य र लोकतान्त्रिक गणतन्त्रको संस्थागत भएको सम्झनामा देशभर भव्यताका साथ लोकतन्त्र दिवस मनाउने गरिएको छ ।
जनताको प्रत्यक्ष शासन हुने व्यवस्थालाई नै लोकतन्त्र भनिन्छ । लोकतन्त्रमा जनतामा नै शक्ति केन्द्रित हुन्छ जनताले छानेका नेतृत्वले नै शासन गर्ने गर्दछन् ।
राता झन्डा र परिवर्तनको नारा लागेको वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रूपमा स्मरण गर्छन् । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्वपूर्ण भूमिका रहेको छ । जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । २०६२ र ६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन पश्चात् वैशाख ११ गते निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो ।
त्यति बेला सशस्त्र युद्धरत तत्कालीन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरू बिच सम्पन्न १२ बुँदे सहमति पश्चात् १९ दिने ऐतिहासिक जनआन्दोलन भएको थियो ।
२०६३ जेठ ४ गते बसेको पुनः स्थापित संसद् बैठकले राजदरबार को अधिकार कटौती ग¥यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित ग¥यो । २०६३ मङ्सिर ११ मा माओवादी हतियार बिसाउँदै शान्तिपूर्ण राजनीतिमा आयो ।
यसैको आधारमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको विधिवत् अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गरेको थियो । जनआन्दोलनको सफलतासँगै युद्धरत नेकपा माओवादी शान्ति प्रक्रियामा फर्किएको थियो । आजैका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित संसद् पुनः स्थापना गर्दै जनताको नासो जनतालाई नै दिएँ भनी शासन सत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए । त्यही वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो ।
६२ अनि ६३ को आन्दोलनलाई नेपाली राजनीतिकै नयाँ मोड र अत्यन्त महत्त्वपूर्ण घडीका रूपमा लिइन्छ । देशलाई समृद्धिको बाटोमा हिँडाउन संविधानसभाको यात्रा यही आन्दोलनबाट सुरु भएको थियो । यसको फलस्वरूप सबै नेपालीको आकाँक्षा पूरा गर्न २०७२ असोज ३ गते “नेपालको संविधान (२०७२)“ जारी हुन सफल भयो ।
प्रमुख सात राजनीतिक दलको शान्तिपूर्ण सडक संघर्ष र तत्कालीन माओवादीको सशस्त्र संघर्ष र बलिदानको कारणले नेपालका झन्डै २५० वर्षदेखि शासन गर्दै आएको राजतन्त्र अन्त्य भयो । शासन व्यवस्थाको परिवर्तन सँगै तत्कालीन राजा ज्ञानेन्द्र नागरिकको रूपमा रहन तयार भए ।
नेपाली जनताले आफ्नो राष्ट्रप्रमुख आफैँ छान्न पाउने गणतान्त्रिक व्यवस्था अवलम्बन गरेका छन् । दोस्रो जनआन्दोलनले संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता नेपालको मौलिक विशेषतासहितको प्रणालीलाई स्थापित गरेको छ । राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको छ । पिछडिएका र सिमातकृत वर्ग, क्षेत्र, तह तथा तप्कालाई राज्यको मूल प्रवाहमा ल्याउने कसरत जारी छ । जनआन्दोलनको म्यान्डेट अनुरूप नै संघीय शासन प्रणाली आत्मसात् गरिएको छ । सात प्रदेश र अधिकार सम्पन्न ७५३ स्थानीय तहमार्फत जनताले गाउँमै सिंहदरबारबाट पाउने सेवा तथा सुविधा पाएका छन् । लोकतन्त्र दिवसको अवसरमा चोक चौताराहरूमा दीप प्रज्वलन, नगर तथा टोल सरसफाइ, प्रभात फेरी र प्रवचन, जनआन्दोलनका शहीदहरूको सम्झना र घाइते तथा उनीहरूका परिवारलाई सम्मान गरिँदै आएको छ ।