२२ जेठ, नेपालगञ्ज । विविध कार्यक्रमको आयोजन गरि आज संसारभर विश्व वातावरण दिवस मनाइँदैछ ।
‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा पनि वातावरणका क्षेत्रमा काम गर्दै आएका संघ–संस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गरि यो दिवस मनाउँदैछन् ।
जुन महिनाको ५ तारिखका दिन विश्वव्यापी रूपमा यो दिवस मनाइने गरिएको छ ।
१६ जुन, १९७२ मा संयुक्त राष्ट्र संघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता कायम भयो ।
त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अंगीकार गरिएको हो ।
विश्वभर हरेक वर्ष ४०० बिलियन टन प्लास्टिकहरू उत्पादन हुन्छन् जस मध्य ५० प्रतिशत प्लास्टिक केवल एक पटक मात्र प्रयोग गर्न बनाइएको हुन्छ । यस अवस्थामा प्लास्टिक प्रदूषणले विश्वलाई आक्रान्त गरिरहेको यस अवस्थामा विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध एकजुट हुन आग्रह गरिएको छ ।
जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ वातावरण कायम गर्नका लागि फोहोर मैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न वाञ्छनीय भएकोले नेपालको अन्तरिम संविधान ०६३ सालको धारा ८३ बमोजिम संविधानसभाले फोहोर मैला व्यवस्थापन ऐन ०६८ पारित गरेको छ भने ०७२ को संविधानमा मौलिक हकको रूपमा वातावरणसम्बन्धी हकको व्यवस्था गरेको छ ।
नेपालको संविधान ०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ । तर, अहिलेको समयमा यहाँको वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट एवं जागरूक हुन आवश्यक छ ।
प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले हालसम्म पनि कडाइका साथ कार्यान्वयन गर्न सकेको अवस्था छैन । वास्तवमा वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्यांकन, पूर्व सावधानी, सार्वजनिक न्यायलगायतका विषयहरूमा ध्यान दिन आवश्यक छ ।
यो बाहेक सरकारले वातावरण संरक्षणका लागि विद्यालय स्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमहरूमा चेतनामूलक सामग्रीहरू प्रचारप्रसार गर्न उत्तिकै जरुरी देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here