२९ जेठ, नेपालगञ्ज । विविध जनचेतनामूलक कार्यक्रमको आयोजन गरि आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदैछ ।
बालश्रमिकको दुर्दशाको बारेमा चेतना फैलाउन प्रत्येक वर्ष जुन १२ तारिखका दिन विश्वव्यापी रुपमा बालश्रम विरुद्धको दिवस मनाउने गरिएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सन् २००२ देखि यो अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको हो । ५ देखि १७ वर्ष उमेरको बालबालिकालाई श्रममा लगाएमा बालश्रमिकको रुपमा लिने गरिएको छ ।
सन् १९९० मा नेपालले संयुक्त राष्ट्र संघको बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर बाल अधिकार प्रति आफ्नो प्रतिबद्धता त जाहेर गरेको छ तर कार्यान्वयन पक्ष असाध्यै फितलो भएको छ ।
यसका अलावा मानव अधिकार तथा ओसारपसार नियन्त्रण ऐन २००७, नागरिक अधिकार सम्बन्धी ऐन १९९५, बालबालिका सम्बन्धी ऐन १९९२, बालश्रम प्रतिबन्ध तथा नियमित ऐन २००० र कमैया श्रम ऐन २००२ ले नेपालमा बालश्रमलाई अवैध मान्दै बाल अधिकारलाई सुनिश्चित गरेको छ ।
बालश्रम हरेक वर्ष झन्डै एक लाखको दरले घट्दै गए पनि नेपालमा अझै पनि (५ देखि १७ वर्ष) सम्मका ११ लाख बालबालिका बालश्रममा छन् । ती मध्ये २,२२,४९३ जोखिमपूर्ण काममा संलग्न रहेको अनुमान गरिएको छ । नेपालमा कुल बाल श्रमको ८५ प्रतिशतभन्दा बढी कृषि क्षेत्रले ओगट्छ ।
शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बालश्रम बालबालिकाले गर्ने अपरिपक्व उमेरमा परिपक्व झैँ गर्ने शारीरिक अथवा मानसिक श्रम हो ।
जुनसुकै खालको रोजगारयुक्त कार्य, जहाँ बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्दछ, स्कुल जान अवरोध पुग्दछ अथवा मानसिक, सामाजिक र शारीरिक रूपमै बालबालिकालाई असर पु¥याउने नियमितका कामहरूमा यदि बालबालिका संलग्न हुन्छन् या संलग्न गराइन्छ भने त्यसलाई बालश्रम भनिन्छ ।
बालश्रमले बालबालिकाको सुनौलो भविष्यका लागि आवश्यक शिक्षा तथा उसको प्राकृतिक विकासको अवसरबाट वञ्चित गराउँदछ ।