२ फागुन, नेपालगन्ज । आज प्रणय दिवस विश्वभर एक आपसमा उपहार साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा परिवार साथिभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ ।
विशेषगरी यस दिवसमा गुलाबको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ ।
युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ ।
इटलीका सम्राट् क्लाउडिअस २ ले नागरिक विवाहमा प्रतिबन्ध लगाउँदा उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षधरका रूपमा उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा आजका दिन संसारभरि प्रेम दिवस मनाउने गरिन्छ ।
सम्राट् क्लाउडिअस २ ले भ्यालेन्टाइनलाई बन्दी गृहमा बन्दी बनाएर राखेको समयमा बन्द गृहको एक सिपाहीकी छोरीसँग यिनको प्रेम रहन गएको र मृत्यु अगाडि उनले आफ्नी प्रेमिकाका लागि लेखेको चिठ्ठीमा तिम्रो प्यारो भ्यालेन्टाइनका तर्फबाट भनी आफूलाई प्रेषकका रुपमा गरिएको एउटा सम्बोधन…. त्यही सम्बोधन आजसम्म पनि मानव समुदाय अनि प्रेमीहरूले हृदयनिकट व्यक्तिलाई आफ्ना भ्यालेन्टाईनका रुपमा सम्झिने गर्दछन् ।
पश्चिमी सभ्यताका आयातित ’डे’ का रूपमा आजको भ्यालेन्टाइन डेलाई आलोचना पनि गरिएको छ । तोकिएको कुनै विशेष मिति भन्दा पनि निस्वार्थ माया महत्वपूर्ण हो ।
अचम्मको तथ्य के छ भने, ’संसारमा स्वर्ण अक्षरले कुदिएका प्रेमकथाहरू संयोगान्त भन्दा वियोगान्त छन् ।’









