२ फागुन, नेपालगञ्ज । आज भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ ।
हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।
विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।
‘भ्यालेन्टाइन डे’ को सुरुवात सन् २६९ मा इटलीको रोमनबाट भएको मानिन्छ । सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाएपछि यस विरुद्ध उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा प्रणय दिवस मनाउने गरिएको हो।
आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिएका थिए । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा ‘भ्यालेन्टाइन डे’ का रूपमा मनाउन थालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here