८ असोज, नेपालगञ्ज । विजया दशमी पर्वको अवसरमा घटस्थापनाका दिनदेखि स्थापित गरिएका दुर्गा प्रतिमा (मूर्ति) आज विसर्जन गर्न लागिएको छ ।
नगर तथा ग्रामीण क्षेत्रमा स्थापित गरिएका दुर्गा प्रतिमाहरु आज प्रहरी प्रशासनको कडा निगरानीमा विसर्जन गर्न लागिएको हो ।
यस कार्यलाई व्यवस्थित तथा मर्यादित बनाउन बाँके प्रशासनले दुर्गा मूर्ति विसर्जनका लागि समयसिमा निर्धाण गरेको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्न भन्दै प्रशासनले मूर्ति विसर्जनको समयसिमा निर्धारण गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले एक सूचना जारी गर्दै मूर्ति विसर्जन अघि दुर्गा भवानीको पूजा स्थलमा दिनको १२ बजेअघि नै पूजन कार्य समापन गर्न आग्रह गरेका छन् । सूचनामा बिधिपूर्वक पूजाअर्चना सकेपश्चात स्थानीय प्रहरी ईकाईसंग समन्वय गरि विसर्जनस्थल तर्फ प्रस्थान गर्ने व्यवस्था गर्न भनिएको छ ।
प्रजिअ पोखरेलले जारी गरेको सूचनामा दुर्गा भवानीको मूर्ति विसर्जन ¥याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवं शौम्य तुल्याउन अनुरोध गर्दै साँझ ५ बजे अघि नै मूर्ति विसर्जन कार्य सम्पन्न गर्न आग्रह गरिएको छ । समयसिमाले ट्राफिक ब्यवस्थापन तथा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न र भक्तजनहरुलाई समेत उज्यालोमा नै घाटसम्म पुग्न र घर फर्कन सहज हुने उल्लेख गरिएको छ ।
प्रजिअ पोखरेलले साँझ ५ बजेअघि नै मूर्ति विसर्जन हुने बातावरण निर्माण गरिदिन सै दुर्गापूजा समिति तथा भक्तजनहरुलाई आग्रह गरेका छन् । प्रशासनले साविकदेखि नै प्रयोगमा आइरहेको ¥याली मार्गमा भने कुनै परिवर्तन नगरिएको सूचनामा उल्लेख छ ।
विसर्जन ¥यालीमा घुसपैठ वा अवाञ्छित गतिबिधि निस्तेज पार्न र ¥यालीलाई शान्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न ड्रोन र अन्य उपकरणबाट समेत निगरानी हुने तथा ताजा तस्विर क्याप्चर गरि अवलोकन गरिने पोखरेलले जनाएका छन् ।
उनले कानून बिपरितका गतिबिधिमा संलग्न जो कोहीलाई ड्रोन, अन्य उपकरणबाट लिइएको तस्विर÷भिडिओको आधारमा समेत प्रचलित कानून बमोजिम कडा कारवाही गरिने हुँदा ¥यालीमा सहभागी सवै भक्तजनहरुले मर्यादित ढंगबाट मूर्ति विसर्जन कार्यक्रम सम्पन्न गर्न अनुरोध समेत गरेका छन् ।
यस्तै बाँकेमा आज बुधबारका दिन मदिरा बिक्री वितरण तथा उपभोग गर्न नपाइने भएको छ । बडादशैंको भोलिपल्ट बुधबारका दिन निस्कने दुर्गा मूर्ति विसर्जन ¥यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलवार एक सूचना जारी गर्दै मदिरा बिक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जारी गरेको सूचनामा बुधबार बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरिएको उल्लेख छ । सूचनाको बर्खिलाप हुने गरी कुनै गतिविधि भएमा कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here