९ पौष, नेपालगञ्ज । यिसु ख्रिस्टको जन्म दिवस अर्थात ‘क्रिसमस डे’ पर्व आज धूमधामका साथ मनाइँदै छ ।
इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज इसाई समुदायले ‘क्रिसमस डे’ मनाइ रहेका छन् ।
डिसेम्बर २५ तारिखका दिन यिसु ख्रिस्टको जन्म बेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट यिसु ख्रिस्ट जन्मिएका थिए ।
यिसु ख्रिस्टले तीन मुख्य मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा इसाई धर्मावलम्बीले यस दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा यस दिनलाई इसाई समुदायले मनाउने गरेका छन् । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने वि.सं. २०६३ पछि महोत्सवका रूपमा मनाउन थालिएको हो ।
विभिन्न प्राचीन युरोपियन दस्ताबेजमा यिसु ख्रिस्ट धर्तीमा आउनपूर्व नै हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसँगै आजको दिनलाई क्रिसमसका रूपमा मनाउन थालिएको हो । इस्वी सम्वतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रूपमा मनाइन्छ भने केही देशहरूले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।
क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here