९ फागुन, नेपालगञ्ज । अल्पसंख्यक समुदायका सवाललाई स्थानीय सञ्चार माध्यममा उठान गर्नुपर्नेमा मिडियाका सम्पादकहरुले जोड दिएका छन् ।
अल्पसंख्यक समुदायका मुद्दा गम्भिर र संवेदनशिल भएको औल्याउदै सम्पादकहरुले उनीहरुका सवालमा सशक्त भएर कलम चलाउन आवश्यक रहेको धारणासमेत राखेका छन् ।
युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जद्धारा संचालित “नागरिक समाज र मिडिया” परियोजना अन्र्तगत सरोकारवालासंग समिक्षा र प्रगति बैठकमा खास गरी अल्पसंख्यक समुदायभित्र पनि महिला, बालवालिका र बालविवाहका मुद्दा गम्भिर र संवेदनशिल रहेको सम्पादकहरुले बताएका थिए ।
नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति तथा गोरेटो अनलाईनका सम्पादक तथा प्रकाशक नीरज गौतमले पत्रकारिता रमाउनेका लागि होइन, यो त संघर्ष गर्नसक्ने, बिचार प्रवाह गर्नसक्ने, समाजको असल चरित्र निर्माण गर्न सक्नेका लागि हो, भने ।
महासंघ बाँकेका पूर्व अध्यक्ष तथा दैनिक नेपालगञ्जका प्रधान सम्पादक झलक गैरेले अल्पसंख्यक समुदायका पत्रकारहरुलाई निरन्तर पत्रकारितामा लाग्न आग्रह गर्दै पत्रकारिता पेशा अन्य पेशा भन्दा फरक पेशा भएको बताए । उनले अल्पसंख्यक समुदायभित्रकै पत्रकारका लागि राम्रो अवसर र सम्भावना भएकाले मिडियामा काम गर्न आग्रह गरे ।
कालपृष्ठ दैनिकका सम्पादक कमल खत्रीले विषय बस्तुको गहिराईमा पुगेर काम गर्न आवश्यक भएको भन्दै अल्पसंख्यक समुदायका मुद्दालाई संचारमाध्यमले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सुर्यलाल यादवले अल्पसंख्यक समुदायको शसक्तिकरणले यो समुदाय मिडियाको मूल प्रवाहमा आउने उल्लेख गर्दै पत्रकारितामा दिगो रुपमा लाग्ने काम सहज नभएको बताए ।
बागेश्वरी पोष्ट अनलाईनका सम्पादक नवीन गिरीले पत्रकारितामा मौलाएका विकृतिको चर्चा गर्दै अल्पसंख्यक समुदायका पत्रकारहरुले उठाएका विषय गम्भिर रुपमा उठेको बताए ।
त्यसक्रममा कार्यक्रमको समापन गर्दै लुम्विनी प्रदेश कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले अल्पसंख्यक समुदायका मुद्दालाई सो समुदायले मात्रै गहन अध्ययन गर्न सक्ने उल्लेख गर्दै सत्य, तथ्य समाचार मात्र प्रकाशन हुनुपर्ने बताए ।
उनले ग्रामिण क्षेत्रका जनजिविकासंग जोडिएका समस्यासहितको सवाललाई पत्रकारले पहिलो प्राथमिकताका साथ उठान गर्नुपर्नेमा जोड दिए ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारीले अल्पसंख्यक समुदायका मुद्दालाई अझ वढी प्राथमिकता दिन आग्रह गर्दै पत्रकारहरु स्वंय क्रियाशिल हुन आवश्यक भएकोमा जोड दिए ।
कार्यक्रममा अधिबक्ताहरु केवलसिंह थारु, हिरालाल श्रेष्ठ, मुस्लिम महिला अगुवा मैमुना सिद्दिकी लगायतले बोलेका थिए ।
कार्यक्रममा द एशिया फाउण्डेन बुटवल कार्यालयका रघुनाथ राना र एन्जिना पन्थीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा पत्रकार कृष्ण अधिकारी संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्र, कार्यक्रम संयोजक रविन्द्रकुमार ज्ञवालीले कार्यक्रममा सहजीकरण गरेका थिए ।
संस्थाले सञ्चालन गरेको परियोजना अन्तर्गत लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ्ग, कपिलवस्तु र रुपन्देही जिल्लावाट थारु र अवधी भाषी १५ जना पत्रकारहरुले विभिन्न सवालहरुमा खोजमुलक स्टोरीहरु विभिन्न सञ्चारमाध्यममा प्रकाशन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here