१ श्रावण, नेपालगञ्ज । वैदिक सनातन धर्मावलम्बीहरुको अति पावन महिना श्रावण आजदेखि प्रारम्भ भएको छ ।
वैदिक सनातन धर्ममा साउन महिनाको विशेष महत्व रहेको छ । साउन महिनाभरि माछामासु, लसुन–प्याजजस्ता अशुद्ध खाना त्यागेर शुद्ध आचरणमा रहने, सोमवार शिवजीको पूजा आराधना र व्रत गर्ने, सम्भव भए घरमा रुद्राभिषेक गर्ने गरेर यो महिना बिताइन्छ । यो महिना वर्षका महत्वपूर्ण चाडपर्व सुरु हुने महिना पनि हो । साउने संक्रान्ति, नागपञ्चमी, जनैपूर्णिमा जस्ता बहुप्रचलित र नेवार समुदायमा प्रचलित गाईजात्रा तथा मिथिलाञ्चलमा प्रचलित मधुश्रावणी यसै महिनामा पर्दछन् । साउने संक्रान्तिका दिन लुतो फालेर वर्षभरिका लागि आरोग्यको कामना गरिन्छ ।
साउन महिनामा हरियो मिश्रित रातो सारी, हरियो चुरा, पहेँलो पोते र मेहेन्दी लगाएर अटल सौभाग्यका लागि भगवान् शंकरको आराधना गर्ने परम्परा नेपाली महिलामा रहेको छ । सूर्य मिथुन राशीबाट कर्कट राशीमा प्रवेश गरेर दक्षिणायन सुरु भएको महिना साउन भगवान शिवको प्रिय महिना मानिन्छ । भगवान शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान शिवका हजार नाममध्ये एक हो । भगवान शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । मानव शरीर पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्चत्वले बनेको छ । यसमध्येमा पृथ्वी तत्व शरीरमा धेरै हुन्छ । यसैले पृथ्वीमा हरियाली छाएका बेला मानिसले पनि हरियो पहिरन लगाएर साउने सोमबार मनाउने गर्छन् । यसो गरेमा प्रकृतिसँगको तादात्म्यता प्राप्त हुने धार्मिक विश्वाससमेत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here