२७ जेठ, नेपालगन्ज । तालुक नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल काठमाण्डौका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहले सांगठनिक मूल्य, मान्यता अनुरूप काम कारवाही गर्न निर्देशन दिएका छन् ।
मंगलवार जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगी कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण, विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिँदै उनले जनमुखी प्रहरी सेवा प्रवाह गर्न र प्रत्येक प्रहरी कर्मचारीले प्रहरी आचरण तथा आचारसंहिताको अक्षरस पालना गर्न निर्देशन समेत दिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
उनले जिल्ला प्रहरी कार्यालय, बाँके तथा मातहत समेतमा कार्यरत प्रहरी कार्यालयका प्रमुखहरु, सिनियर प्रहरी अधिकृत तथा उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई समाजमा शान्ति सुरक्षाको अवस्था सुदृढीकरणमा प्रहरीले महत्वपूर्ण उपस्थिति जनाई प्रमाणमुखी अनुसन्धान र अभिलेख व्यवस्थापनमा जोड दिनुपर्ने बताउँदै सांगठनिक मूल्य र मान्यता अनुरूप काम कारवाही गर्न, जनमुखी प्रहरी सेवा प्रवाह गर्न र प्रत्येक प्रहरी कर्मचारीले प्रहरी आचरण तथा आचारसंहिताको अक्षरस पालना गर्न निर्देशन दिएका हुन् ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले स्वागत मन्तब्य राखेका थिए भने धन्यवाद ज्ञापन गर्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षकले प्र.अ.म.नि.ले दिएको निर्देशनलाई अक्षरस पालना गरि प्रहरी सेवालाई समय सापेक्ष, जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।