२१ माघ, नेपालगन्ज । विद्याकी अधिष्ठात्री देवी माता सरस्वतीको पूजा–आराधना गरी आज श्री पञ्चमी पर्व मनाइँदैछ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कूची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।
सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ यस दिनलाई ‘बसन्त पञ्चमी’ पनि भनिन्छ । यस दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।
नेपालगञ्जस्थित सरस्वती मन्दिर, बागेश्वरी मन्दिर लगायत विभिन्न मन्दिर तथा विद्यालयहरुमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, विशेषगरी छात्र–छात्राको घुइँचो लाग्ने गर्दछ ।
सरस्वती पूजा या श्री पञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो । आजबाट क्रमशः वसन्त ऋतुको सुरुवात हुने मान्यता राखिन्छ ।
‘ब्रह्मा भिभर्त पुराण’मा प्रस्ट रूपमा उल्लेख छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नू भनी भगवान् श्रीकृष्णले वरदान दिएका हुन् । बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ । अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरूको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।
आजका दिन विद्यालयहरूमा विशेष पूजा–आजाका साथ रमाइलो चहलपहल हुन्छ । तराईतिर आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलफूलहरू प्रसादका रूपमा बाँडिन्छ । कतिपय विद्यालयमा विद्यार्थीहरूको सक्रियतामा शाकाहारी भोजन आयोजना गरिन्छ । विभिन्न रङ्ग रङ्गिन तोरणहरू झुन्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँस प्रयोग गरेर बनाएको प्रवेश द्वारहरूबाट आज धेरै विद्यालयहरू सजिसजाऊ रहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here